स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु

स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु

 सोमबार, जेठ ३०, २०७९, १९:०२:०० मा स्वास्थ्य खबरडटकममा प्रकाशित



स्थानीय सरकारको निर्वाचन सम्पन्न भएपश्चात हाल जनप्रतिनिधिहरु आफ्नो कार्यकालको पहिलो नीति, कार्यक्रम तथा बजेट के कस्तो ल्याउने भन्ने तयारीमा जुटिरहेका छन्। पहिलो वर्षको बजेट निर्माणले नै जनप्रतिनिधिहरुको कार्यकालको प्राथमिकता निर्धारण हुने भएको हुँदा यस वर्षको नीति कार्यक्रम तथा बजेटले निकै महत्व राख्दछ। 

नव निर्वाचित जनप्रतिनिधिहरुलाई जनमुखी बजेट विनियोजन तथा जनतासँग प्रतक्ष्य जोड्ने योजना तथा कार्यक्रमहरु निर्माणमा के कसरी आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने सोचमा रहेका छन्। पदवहाली भएपश्चात् पनि यस वर्ष पहिलो निर्णयको रुपमा धेरै किसिमका घोषणाहरु स्थानीय स्तरबाट भएका छन् यदपी जनस्वास्थ्यमा गरिने कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दा लाग्ने बजेट लगानी हो खर्च होइन भन्ने ठोस वुझाई सबैमा छैन। यही वेला हामीले स्वास्थ्य क्षेत्रको महत्व तथा जनस्वास्थ्यका विभिन्न गतिविधिहरु प्रति रुची हुने हिसाबले जनप्रतिनिधिहरुलाई वुझाउन सक्यौ भने स्थानीय स्तरबाट स्वास्थ्य क्षेत्र प्राथमीकता भित्र पर्न सक्दछ।
नयाँ जनप्रतिनिधिहरुलाई बजेट तथा योजना प्राथमिकिकरण गर्न सहजीकारण होस तथा स्थानीय स्तरमा रहेर स्वास्थ्य शाखामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई समेत केहि प्राविधिक पृष्ठपोषण होस भन्ने उदेश्यले एक जनस्वास्थ्यकर्मीको हैशियतले केहि सल्लाह सुझाव तयार गरेको छु।
स्थानीय स्तरबाट स्वास्थ्य क्षेत्रमा योजना बनाउँदा ध्यान दिनुपर्ने मुख्य दस्तावेजहरु
  • राष्ट्रिय स्वास्थ्य नीति, २०७६
  • जनस्वास्थ्य सेवा ऐन, २०७५ 
  • जनस्वास्थ्य सेवा नियमावली २०७७ 
  • पन्ध्रौं योजना २०७६/७७-२०८०/८१
  • नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति (२०७७/७८ देखि २०८६/८७)
  • नेपाल स्वास्थ्य क्षेत्र रणनीति
  • प्रदेश स्वास्थ्य नीति
  • आफ्नै पालिकाले तर्जुमा गरेको स्थानीय स्वास्थ्य तथा सरसफाई सेवा ऐन
  • स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड
  • स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि
  • स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधि
  • स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा मार्गनिर्देशन
केही सरल तर गेम चेन्जर कार्यक्रमहरु
स्थानीय तहले बजेट विनियोजन गर्दा कसरी गर्ने, के कति बजेट कुन शिर्षक, कार्यक्रममा छुट्याउने भन्ने विभिन्न निर्देशिका, मापदण्ड तथा मार्गदर्शनहरु छन्। यदपी धेरै जना स्वास्थ्यकर्मीहरुले राखेको जिज्ञासा तथा मागेको सुझावलाई सम्वोधन हुने किसिमले आँफुलाई थाहा भएका जानेका वुझेका स्थानीय स्तरबाट गर्न सकिने केही सरल तर गेम चेन्जर कार्यक्रम तथा गतिविधिहरुको सूची तयार गरेको छु।
तथ्यमा आधारीत योजना निर्माण
  • वार्षिक रुपमा आफ्नो पालिका वडाको स्वास्थ्य वस्तुस्थिती विस्लेषण गर्न वडा स्थानीय तह स्वास्थ्य वस्तुस्थिती विस्लेषण प्रतिवेदन तयार गर्न स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तथा स्थानीय स्वास्थ्य योजना तयार गर्ने सम्वन्धी कार्यक्रमहरु राख्न्ने।
  • तथ्यमा आधारित योजना गर्नको लागि आफ्नो वडाको हेल्थ प्रोफाईल (डिजिटल सहित) वनाउने।
  • तथ्यमा आधारित योजना निर्माणको लागि  हरेक वडाहरुमा हुने जन्म मृत्यु वसाईसराईका विवरणहरु स्वास्थ्यको लक्षित जनसंख्या निर्धारणमा प्रयोग हुने हुँदा उक्त तथ्यांकहरु डिजिटल प्रणालीवाट अधावधिक हुने प्रणालीको विकास गर्न स्वास्थ्य शाखाले समेत सहजीकरण गर्ने  र सो तथ्यांकका आधारमा स्वास्थ्य सेवाका योजनाहरु तर्जुमा र कार्यान्यवन गर्ने प्रणालीको विकास गर्ने।
  • आफ्नो पालिका भित्र रहेका लक्षित समुहहरु जस्तै ५ वर्षमुनिका बालबालिकाहरु, गर्भवति महिलाहरु आदिको लगत संकलन तथा अधावधी गर्ने।
  • विभिन्न कार्यक्रमहरुको आधारमा(जस्तै खोप कार्यक्रम परिवार नियोजन सेवा) वडा/पालिकाहरुको माइक्रो योजना तयार गर्ने।
  • पालिका भित्र नियमित संकलन हुने नियमित तथ्याङ्क, अभिलेख तथा प्रतिबेदन, तथ्याङ्क ब्यवस्थापन प्रक्रिया को गुणस्तर परीक्षण तथा सुनिश्चितता गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने।
स्वास्थ्य जनशक्ति विकास
  • स्थानीय तहका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी एवम् अन्य निकायहरूमा कार्यरत स्थायी, अस्थायी, करार, विकास समितिबाट नियुक्त, निजी एवं गैर सरकारी संस्थाहरुद्धारा सञ्चालित स्वास्थ्य जनशक्तिको विवरण अभिलेखीकरण गर्ने तथा डाटावेस तयार गर्ने।
  • स्वास्थ्य शिक्षामा दुर्गम स्थानका जेहेन्दार र आर्थिक रूपले विपन्न समुदायका लागि अवसर प्रदान गर्नको लागि स्थानीय तहमा कोष खडा गर्ने।
  • स्वास्थ्य जनशक्तिलाई दुर्गम स्थानका स्वास्थ्य संस्थामा आकर्षित गर्न र खटाएको स्थानमा टिकाई राख्न उपयुक्त प्रोत्साहन र सुविधा सहित कार्यविधि तर्जुमा गरी लागू गर्ने।
  • पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीलाई क्रियाशिलता र कार्यसम्पादनका आधार, पर्फर्मेंस बेस्ट मुल्याकन गरी हरेक वर्ष पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम ल्याउने।
  • स्वास्थ्यकर्मीहरुलाई थप उत्प्रेरणा दिलाउन तथा व्यवहारिक ज्ञानहरु आदान-प्रदान गर्न केहि नमुना स्वास्थ्य संस्थाहरुको कार्यहरु हेर्ने अवसरको लागि अन्तर पालिका अन्तर प्रदेश भ्रमण गर्ने कार्यक्रमहरु राख्ने।
स्वास्थ्य प्रवर्धन
  • वजारका मुख्य मुख्यचोकहरु, गाउँका चौतारा विसौनीहरुमा नसर्ने खालको रोगहरु, सडक दुर्घटना रोकथामवारे तथा अन्य स्वास्थ्य सूचनाहरु डिजिटल प्रविधि वाट जडान गरि प्रशारण गर्ने।
  • विधालय स्वास्थ्य कार्यक्रम तथा विधालयमा स्वास्थ्य विधार्थी समुह वा टोल टोलमा हेल्थ क्लव स्थापना गर्ने अभिमुखीकण गर्ने र आफ्नो घर परिवारमा नसर्ने खालका रोग रोकथाम तथा वच्ने उपायहरु सिकाउने कार्यक्रम निर्माण गर्ने।
  • जनतासंग स्वास्थ्यकर्मी - जनस्वास्थ्य जनजागरण (स्वास्थ्य शिक्षा तथा प्रवर्धन) कार्यक्रम गर्ने।
  • योग शिक्षा, योग अभ्यास, स्वास्थ्य परामर्श तथा स्वस्थ खानपान जीवन शैली सम्बन्धी टोल टोलमा कार्यक्रम हरु संचालन गर्ने।
स्वास्थ्य अनुसन्धान

  • स्थानीय तहहरुबाट विनियोजन हुने बजेटमा हालसम्म स्वास्थ्य अनुसन्धान क्षेत्र प्राथमिकता भित्र परेको छैन। त्यसैले आफ्नो पालिका भित्रै हुने स्वास्थ्य अनुसन्धानहरुमा केहि वजेट छुट्याउनु पर्ने देखिन्छ।
  • स्वास्थ्य विषय एमपिएच विपिएच वा अरु कुनै विषय अध्ययन गर्ने विधार्थीहरुलाई थेसिस ग्राण्टको रुपमा समेत दिने गरेर स्वास्थ्य अनुसन्धानमा बजेट छुट्याउन सकिनेछ।
हेल्थ ईमेर्जेन्सी तथा निगरानी
  • वडा आपतकालिन स्वास्थ्य कोष स्थापना गर्ने।
  • प्राकृतिक प्रकोप, विपत पुर्व तयारि तथा महामारी निर्यंत्रण: भैपरि आउनसक्ने प्राकृतिक प्रकोप तथा विपतमा देखिन सक्ने जनस्वास्थ्यका समस्याहरुलाई समाधान गर्न हरेक वडा मा र्यापिड रेस्पोन्स टिमको गठन गर्ने।
  • पालिका स्तरीय केश अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल (Case Investigation and Contact Tracing-CICT) टोली परिचालनको लागि आवश्यक पर्ने रकम तथा विनियोजन गर्ने। CICT लाई कोभिड -१९ महामारीकै रुपमा नभएर अरु निगरानी गर्नुपर्ने मुख्य मुख्य रोगहरुको खोजि जाँचपड्तालमा समेत जिम्मेवारी विस्तार गर्दै निरन्तरता दिने।
  • भविष्यमा आईपर्ने महामारीको रोकथाम तथा नियन्त्रण गर्न पालिका योजना, रणनीति तथा गतिविधिहरु संचालन गर्न तथा पालिका स्वास्थ्य प्रणालीको थिंकटंक परामर्श दाताको रुपमा स्थानीय स्तरबाटै जनस्वास्थ्य विषयमा दक्खल स्वास्थ्य जनशक्ति करार मै भएपनि राख्ने व्यवस्था गर्ने।
नियमित कार्यक्रमहरुलाई थप स्थानीय प्रयास

  • स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई परिचालन गर्न तथा जिम्मेवार बनाउन कार्यक्रम तथा वजेट विनियोजन गर्ने।
  • गाउँघर क्लिनिक खोप क्लिनिकलाई सुदृढिकरणका लागि आवश्यक सामाग्री सहित कोठा भवनको व्यवस्थित वनाउन रकम छुट्याउने।
  • गर्भवती महिला तथा तिनका परिवारका सदस्यहरु बीच नियमित गर्भजाँच तथा संस्थागत सुत्केरी सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गर्ने।
  • स्वास्थ्य संस्थाहरुमा फोहोरको उचित व्यवस्थापन गर्नको लागिफोहोरको वर्गिकरण गरी उचित व्यवस्थापन गर्ने आवश्यक साधन श्रोतको सुनिश्चितता गर्ने।
  • नियमित स्वास्थ्य सस्थामा व्रिद्दि अनुगमन गर्ने बालवालिकाहरु विच हेल्दी वेवी प्रतियोगिता आयोजना गर्ने कार्यक्रम राख्न्ने।
  • पूर्ण खोप, कुपोषण रहित वडा पालिका, जिरो होम डेलिभरी वडा जस्ता अभियान वा कार्यक्रमलाई निरन्तरता दिने।
  • स्वास्थ्य शिक्षा पढाउने शिक्षक तथा शिक्षकहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गर्ने।
  • स्थानीय सरकारले आधारभूत स्वास्थ्य सेवा, सरसफाइ र पोषण सम्बन्धमा गरेका नीतिगत  कानुनी र संस्थागत निर्णयहरुलाई कार्यान्वयन गर्न विविध गतिविधिहरु संचालन गर्ने।
आदी!
माथी उल्लेखित क्रियाकलाप तथा गतिविधिहरु आँफैमा पूर्ण छैनन् यदापी यस्ता किसिमका गतिविधिहरु स्थानीयस्तरबाट तर्जुमा हुने बजेट तथा नीति कार्यक्रममा समेट्न सकियो भने पक्कै पनि यस्ता गतिविधिहरुले स्थानीय स्वास्थ्य सुधार गर्न उल्लेखनीय भूमिका खेल्ने छन्।

जय जनस्वास्थ्य!